काठमाडाैं । बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्रान्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ ।
नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालिले दरबारमार्गको स्टोरमा संस्थापक सलमान खानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ सुरु गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको हो ।
विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमान खानको ५४औँ जन्मोत्सव भव्यताका साथ मनाइएको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरिब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी सुरु गरिएको बताए ।
उनले भने, सलमानखान फिल्म मात्र होइन, वास्तविक जीवनमा पनि हिरो बन्न सफल हुनुभएको छ, बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउन्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका हौँ ।
वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय सुरु गरिएको बताए । खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजार रुपैयाँको खरिदमा विशेष छुट दिएको तथा सलमान खानको फिल्म दबंग–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ । रासस
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६