फिजीमा आइतबार आएको भीषण आँधीका कारण २ जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीका कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।
आँधीमा परेकाहरुलाई आपतकालीन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । आँधीबाट घरहरु भत्किनुका साथै बालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ भने दर्जनौ उडान रद्ध भएका छन् ।
पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय १ जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताए ।
‘भीषण आँधीका कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ । मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरुसँग पौडी खेल्दै थिए , उनले भने ।
अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उनले जानकारी दिए । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाइ छ ।
आँधी परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ ।
आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुरु हुन अझै १ हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १ सय ५० प्रतिकिलोमिटरको गतिमा आएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६