काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शनिबार कलंकी–नागढुंगा सडकखण्डको अनुगमन गरेका छन् ।
मन्त्री भएलगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाएका नेम्वाङले नियमितरुपमा विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । कलंकी–नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनुका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै उनी अनुगमनमा निस्किएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
अनुगमनमा काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियासमेत सहभागी थिए ।
स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले काठमाडौँ सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमुखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिए ।
मन्त्री नेम्वाङको सक्रियतामा चाबहिल–गौशाला सडकखण्डबाहेक चक्रपथभित्रका अधिकांश सडकका खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ ।
चाबहिल–गौशाला सडकखण्ड मर्मत गर्न भन्दा पनि पूरै निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेको बताइएको छ । सो सडकखण्ड ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६