काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डा. पेशल दाहाल नियुक्त भएका छन् । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाको सिफारिसमा उनलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।
यसअघि त्रिवि सेवा आयोगको सदस्य भइसकेका दाहाल नेपाल कम्युनिस्ट पार्टी निकट छन् । रजिस्ट्रारका लागि दाहालसहित त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा तथा त्रिविकै उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम सिफारिसमा परेकाे थियाे ।
त्रिविमा तत्कालीन रजिस्ट्रार डिल्लीराज उप्रेतीको कार्यकाल सकिएपछि साे पद खाली थियो । त्रिविमा कर्मचारी प्रशासनको मुख्य जिम्मेवार व्यक्ति रजिस्ट्रार हुन्छ ।
रजिट्रारसँगै शिक्षाध्यक्ष सुधा त्रिपाठीको कार्यकाल पनि यही पुस ८ गते नै सकिए पनि नयाँ नियुक्ति भएको छैन ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६