कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।
नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखको बैठकबाट पश्चिमी सीमा नाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवर्द्धन मात्रै नभएर देशको मान सम्मानसित पनि जोडिएकाले यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ , नगर प्रमुख विष्टले भने, नाकाबाट नेपाल छिर्ने पहिलो पर्यटकलाई सम्मान गर्ने र बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यस दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।
नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफा सुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ ।
भ्रमण वर्षकै अवसरमा नगरपालिकाको ‘ग्रिन सिटी, क्लिन सिटी’को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो । नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रुपमा मनाएको छ ।
पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा राख्नेलगायतका कार्य गरिएका छन् ।
यसैगरी भीमदत्तनगर गड्डाचौकी सडक खण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि स्वच्छ काष्ठमण्डका अभियन्ता केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो । भीमदत्तनगरको बजार क्षेत्रलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ ।
चुरे फेदका सबै धार्मिक पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा ‘हाफ म्याराथन प्रतियोगिता’ आयोजना गरिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६