काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् । राजधानी दैनिकमा खबर छ ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर, उनले यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् ।
बिहीबार राजधानीसँग कुरा गर्दै संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए । उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपा पनि सरकारमा सहभागी भई सरकारलाई सहयोग गर्ने उनले बताए ।
‘वेट एन्ड वाच । हेरौं, सरकारले कस्तो व्यवहार गर्छ ? सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’
सरकारसँगको सम्बन्ध राम्रो हुँदै गएको बताउँदै उनले सरकारलाई चाहिने हरेक किसिमको सहयोग गर्न राजपा तयार रहेको बताए । तर, राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए । संविधान संशोधनका लागि समेत दुई तिहाइ आवश्यक रहेकाले एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।
‘प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ । दुई तिहाइ निकट हुनुहुन्छ । हामी दुई तिहाइ पु¥याउन पनि तयार छौं । उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछि दुई तिहाइ पुग्दैन भनेर चिन्ता लिनुपर्दैन । प्रधानमन्त्री सबै नेपालीको संविधान बनाउन तयार भए हामी दुई तिहाइ पु¥याउन सहयोग गर्छाैं,’ महतोले भने ।
सरकारसँग राजपाले गरेको आशाअनुसार काम भए संघीय सरकारमा मात्र नभई प्रदेश २ सरकारमा पनि केही गर्न सकिने भन्दै उनले प्रदेश २ सरकार पनि परिवर्तनको संकेत गरे ।
केही समयअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच भएको दुई बुँदे सहमतिले समेत राजपा सरकारमा सहभागी हुने विश्वास नेताहरूले गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने र नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई बुँदे सहमतिमा उल्लेख छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा नेपाल संयोजक महतोले सो दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, राजपाका तर्फबाट संयोजक महतोका साथै अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादवसमेत सहभागी थिए ।
यसैबीच राजपा नेपालका संयोजक महतोले बुधबार बिहान प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका छन् । महतोले ओलीसँग लामो समय पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको स्रोतको भनाइ छ ।
ओली र महतोबीच राष्ट्रिय सभाको निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचन, सरकारमा सहभागितालगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ । तर, महतोले प्रधानमन्त्री ओलीलाई भेटेको कुरा अस्वीकार गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६