काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकाको तापक्रम वर्षकै कम भएकाे माैसमविदले बताएका छन् ।
आज उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
यसअघि मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । अबको केही दिन तापक्रम घटबढ भइरहनेछ , उनले भनिन् ।
मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६.५, धनकुटा ६.५ र ओखलढुंगाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६