काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो ।
आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।
मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले प्रहरी घटनास्थलमा पुगेपछि मात्र घटनाबारे थाहा हुने बताए । जंगल क्षेत्रमा डढेलो लागेको हुनसक्ने उनले अनुमान गरे ।
ययसैबीच, मकवानपुरमा हवाई दुर्घटना नभएको त्रिभुवन विमानस्थल कार्यालयले स्पष्ट पारेकाे छ । मकवानपुरको गढी गाउँपालिका ७ को बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि हवाई दुर्घटना भएको आशंका गरिएको थियो ।
स्थानीयवासीले ठूलो आवाज आएकोले दुर्घटना भएको हुनसक्ने बताए पनि त्यस्तो कुनै दुर्घटना नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६