राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।
यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।
यहाँ विगतमा महिनौँदेखि सरकारका विरुद्धमा प्रदर्शन भएको थियो । विशेषगरी आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ ।
राजनीतिक अस्थिरताकै कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ ।
हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुँदै गएको उनको भनाइ छ ।
उनले हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने बताए । एक पछिल्लो प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् ।
साथै उनले आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको बताए ।
संयुक्त राष्ट्रसंघले केही समय अघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको बताइएको थियो । त्यस अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदन विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो ।
सो प्रतिवेदनले हाइटीको यस खाद्यान्न अभावको समस्या समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ ।
आगामी करिब ४ महिनाभित्रै यहाँ कम्तीमा पनि ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने उक्त प्रतिवेदनले औल्याएको छ ।
यसैकारण संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६