काठमाडाैं । सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या देखिएको छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो ।
यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् ।
परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ , मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने । पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा जीवन बिताइरहेकाको संरक्षणमा जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो ।
कामपाले आफ्नो २५औँ महानगर दिवसमा सुरु गरेको यस अभियानअन्तर्गत हालसम्ममा २ सइ ८५ जनालाई उद्धार गरिसकेको छ । यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् ।
सडकमा बस्नेहरु ४० भन्दा बढी जिल्लाका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोरखा र चितवनका बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका पुरुष बढी छन् ।
मंसिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ ।
सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो ।
कार्यक्रम सञ्चालन गरिएको ३ महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ । सुरुका पहिलो ४ रातमा सडक किनारामै सुत्ने २ सय १५ जनालाई उद्धार गरिएको थियो ।
अभियान सुरु भएको पहिलो दिन ७ महिला, ३४ पुरुष र १ बालक गरी ४२ जनाको उद्धार भएको थियो । दोस्रो दिन १० महिला, ४५ पुरुष १ बालक र १ बालिका गरी ५७ लाई उद्धार गरिएको थियो ।
यही पुस १ गते ११ महिला, ३७ पुरुष र १ बालक गरी ४९ र पुस २ गते ३ महिला, ६४ पुरुष गरी ६७ जनालाई राति काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये १ सय २९ पुरुष र १४ महिला तथा १-१ बालक र बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए ।
उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार सुरु गरिएको बताए । उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बिर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६