मध्यपुरथिमि । १ हजार दरका नक्कली नोटको कारोबार गर्ने ४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा छन् ।
त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए ।
गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमि नपा–१ मा रहेको परिधि गिफ्ट पसलबाट बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी २ हजारकाे नक्कली नोट दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो ।
खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा १ हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने ३ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६