भारतको राजधानी नयाँ दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा १ कपडा गोदाममा आइतबार राति ग्यास सिलिन्डर विस्फाेट भएर आगलागी हुँदा ३ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राति साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि ८ वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थिए । बिहान करिब ३ बजेर ५० मिनेट जाँदा आगो नियन्त्रण लिइएको थियो ।
एक अधिकारीका अनुसार गोदाम रहेको भवनको दोस्रो तल्लामा सिलिन्डर विस्फोट भएको थियो । जसले गर्दा भवनको केही हिस्सा खसेको थियो ।
आगलागीको समय मानिसहरु गोदाममा सुतिरहेका थिए । एउटा सानो गल्लीभित्र गोदाम भएका कारण अग्निनियन्त्रकहरुलाई आगलागी नियन्त्रण गर्न समस्या भएको थियो ।
यसअघि, गत ८ डिसेम्बरमा दिल्लीको अनाज मन्डी रहेको फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६