काठमाडौं । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकाेसी जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ।
२ साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सबस्टेशनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सुरु भएको आयोजना प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए ।
२०७२ को भूकम्प र बाढीपहिरोलगायत पटक–पटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द थियो। निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकाेसी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनर्निर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ मा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई सात अर्ब रूपैयाँमा ठेक्का दिइएको थियो।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६