सप्तरी । ८ दिनदेखि डाकनेश्वरी नगरपालिकामा चर्किएको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध मंसिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेका युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । नगरपालिकालाई गत मंसिर १९ गते दिएको ६ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन् ।
१ साता तालाबन्दी गर्दा पनि माग पूरा नभएको भन्दै युवाले ‘भ्रष्टाचार हटाउ : नगरपालिका बचाउ’ भन्दै पातो बजारमा मोटरसाइकल र्याली निकालेका छन् । नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरिद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन् ।
तालाबन्दी गरेर प्रदर्शन जारी राखे पनि मागबारे नगरपालिकाले चासो नदिएकामा स्थानीयवासी अरविन्द मण्डलले आक्रोश पोखे । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उनले भने, आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी रहन्छ ।
भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्नेलगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन् । संघर्ष समितिका प्रदीप यादवले भ्रष्टाचारको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरवासी सम्मिलित उच्चस्तरीय भ्रष्टाचार छानबिन समिति गठनको माग गरे ।
वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरिद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७५-७६ मा सार्वजनिक गरिएको खर्च विवरणको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी छ ।
संघर्ष समितिले नगरपालिकामा प्रयोग भइरहेको डिजिटल हाजिरी ठीक रहेको प्रमाणित गर्ने आधारको लिखित प्रष्टीकरण उपलब्ध गराउनुपर्ने माग गरेको छ । नगरपालिकाको कर्मचारी र पदाधिकारी समयमा उपस्थित नहुनुका कारण प्रष्ट्याउनसमेत उनीहरूले माग गरेका छन् ।
आन्दोलनरत युवाले डाक्नेश्वरी नगरपालिका–५ स्थित नमूना माविको भवन निर्माणमा छुट्याइएको १ करोड ४८ लाख रकमबाट टायबिम मात्र खडा गरिएको, पर्खाल नै निर्माण नगरी नगरपालिका परिसरमा पर्खाल निर्माणको नाममा ५ लाख रुपैयाँ खर्च गरिएको आरोप लगाए ।
नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ३ वडाध्यक्षमा राजपा विजयी छ । नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधानका लागि युवासँग वार्ताको पहल भइरहेको बताए । समस्याको निकासका लागि जनप्रतिनिधिले पहल नगरेको भन्दै आन्दोलनकारी युवाको आक्रोश बढ्दै गएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६