भद्रपुर । ५ दिन अघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।
बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।
आइतबार भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताए । ‘आजको दृश्य क्षमता ५ सय मात्र छ, विमानस्थलमा २ हजार २ सय दृश्य क्षमता नभई यहाँ विमान बस्न सक्दैन उनले भने, बेलुकातिर आउँछ कि अहिले भन्न सकिँदैन ।
बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि ७ दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न ३ दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६