पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चाैथाे जित दर्ता गरेकाे छ । १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भयाे ।
प्रतियोगिताको ४ खेल खेलेको चितवन ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । ४ खेल नै खेलेको काठमाडौं ४ अंकसहित दोस्रो स्थानमा छ भने ३ खेल खेलेको बुटवल ४ अंकसहित तेस्रो स्थानमा छ ।
विराटनगर टाइटन्सका लागि उत्कृष्ट ब्याटिङ गर्दै लोकेश बमले अर्धशतक बनाए। आठौँ क्रममा ब्याटिङमा आएका उनले ३६ बलमा ६२ रन बनाए । जसमा ५ चौका र ५ छक्का हाने ।
यसअघि चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले, दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले साथै तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले जितेको थियो भने तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो।
विराटनगरका लागि ओपनिङमा आएका सुनिल धमलाले ४ बलमा ५ रन हानेका थिए। अर्का ओपनर मोहम्मद जायद आलम ४ बलमा १ रन बनाउँदा आउट भए। कप्तान प्रदीप ऐरीले १९ बलमा ९ रन बनाए। नोमन खानले १६ बलमा १८ रन बनाए। राज् रिजाल २ बलमा १ रन बनाउँदा आउट भए। पुनित मेहराले २६ बलमा २४ रन बनाए। राजेश पुलामी मगर शून्यमै रन आउट भए।
चितवनका करण केसी र भुवन कार्कीले तीन–तीन साथै रोहन मुस्तफाले दुई र सन्नी पटेलले एक विकेट लिए।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६