राजविराज । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका ३ स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।
राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मंगलबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ ।
बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय ३ दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताइन् ।
तिलाठी कोइलाडी गाउँपालिकाले समेत ४ दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
सप्तकोसी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म ५ दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।
दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६