दैलेख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरण गरेका छन् । शाहीसँगै उनकी श्रीमती ईला शाही पनि अपहरणमा परेकी छिन् ।
शनिबार राती उनीहरु अपरहणमा परेको कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले बताए ।
गएराति आएको एक समूहले अध्यक्ष शाही र उनकी पत्नी ईला मल्ललाई घरबाटै अपहरण गरेको अध्यक्षका भाइ हस्त शाहीले बताए । ‘राति १२ बजेतिर ४-५ जना आएका थिए, सोधपुछ गर्नु छ भनेर लगे,’ उनले भने ।
उनीहरुले हस्तलाई पनि सँगै लगेका थिए । तर, उनलाई भने राति १ बजेतिर छोडेको उनले बताए ।
यसैगरी शाहीकी श्रीमतीलाई पनि अपहरणकारीले आइतबार बिहान छोडेका छन् । उनी बिहान ९ बजे परिवारजनको सम्पर्कमा आएकी छिन् ।
अपहरणपछि अध्यक्ष दम्पतीलाई विप्लव समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्याएको बताइएकाे छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।
गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकाले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ ।
विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६