लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले शनिबार राति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।
भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला २, मङ्गलसूत्र ठूलो–सानो गरी ४, नथी सिक्रीसहितको १, कानमा लगाउने बाली २, टप २, झुम्का बाला टीका १ थान र चाँदीको पाउजु ५, हातमा लगाउने पञ्जा १ जोडी, ब्रासलेट १ थान, खुट्टामा लगाउने बिच्छी ३ थान, औँठी १ थान र बच्चाले लगाउने बलिया ३ थान बरामद भएको प्रवक्ता बोहराले बताए ।
पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६