सिञ्जा । यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको छ , पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो हो यो ।
स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उनको दुखेसो छ । सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो ? , उनले भनिन् । विचौलियाका कारण वास्तविक किसान ठगिएका उनको भनाइ छ ।
यस्तै तातोपानी गाउँपालिका–७ का स्याउ कृषक मुनबहादुर कुँवरले बजारीकरणको अभावमा स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताए ।
अहिले बजारमा स्याउको माग छ, तर कृषक रित्ता छन् । बनेका सोलार स्टोर प्रयोगविहीन छन् , उनले भने, बनेका भौतिक संरचना प्रयोगमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।
स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवर्द्धन तथा अन्तर्क्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गरे । यस वर्ष प्रतिकिलो स्याउको ३५ देखि ५० रुपैयाँ मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ ।
जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको गुनासो छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताए ।
सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उनले बताए । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष १ लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ ।
सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्यधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन ।
हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादनभन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए ।
स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उनको भनाइ छ । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिए ।
जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उनले बताए । उनले हरेक स्थानीय तहले एक नमुना बगैँचा बनाउन सुझावसमेत दिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सुझाव दिए । किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने उनको बुझाइ छ । रासस
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६