सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकाेसी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत ६ किलोमा मंसिर २९ गते भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ ।
दुर्घटनामा गम्भीर घाइते भई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी ७ वर्षीया आशिका तामाङको गए राति मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाँच्न सफल ६ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालको रेखदेखमा राखिएको छ ।
बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो ।
बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने प्रनाउ काफ्लेले बताए ।
दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६