सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो ।
सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो । तर, बच्चा बसेन । उनीहरुमा एकखालको तनाव पैदा भयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झन्डै १० वर्ष बिताए ।
एकदिन राममायाले कठोर निर्णय लिएर अर्काे बिहे गर्न भीमबहादुरलाई सुझाइन् । उनले पनि सहजै स्वीकारे । अन्ततः राममायाले आफ्नै श्रीमानकाे बिहे बहिनी मोतीमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो, बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुसी आउँथ्यो ।
३ वर्षअघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीनछक परे । ३ वर्षअघि राममाया र मोतीमायाले ८ महिनाको अन्तरालमा १/१ छोरा जन्माए । ‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर ८ महिनाको फरकमा बच्चा पायो’, मन्द मुस्कानसहित भीमबहादुरले त्यो क्षण सम्झिए ।
छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कुलमा कक्षा–१ मा पढ्छन् । छोराहरु श्रीमानसँग छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु २ वर्षअघि विदेश गएका हुन् । दुवै जना घरको काम गर्छन् ।
यता, भीमबहादुर २ छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो । तर, भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए ।
भीमबहादुरका २ श्रीमतीले मासिक १५ देखि २० हजार पठाउने गर्छन् । उनले सबै पैसा बैंकमा राखेका छन् । त्यसैबाट उनले ३ लाख रुपैयाँ बैंकमा जोडेका छन् । ‘यसपालि आउँदै छन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उनले भने ।
भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान् घर कुरेर बस्छन् । उनका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी २ श्रीमती छन् । उनीहरु पनि दिदी–बहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी २ छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।
१० वर्षअघि ओमन, त्यसपछि झन्डै २ वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिएका उनी आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जान्छन् । काम नहुँदा घर कुरुवा भएर बस्छन् ।
बेलाबेलामा उनमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाए । उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो, वि.सं. २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर ३ वर्षका छोरा मायस गुमाए ।
त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा थिइन् । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्लामगुर्लुम ढल्याे । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो ।
गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । ३ दिनपछि छोराको लास भेटियो ।
गाउँका धेरै महिला विदेश
भीमबहादुरकी २ श्रीमती, पेम्बाकी १ श्रीमतीमात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनकी श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमाया पनि कुवेत गएको निकै समय भयो । छिमेकी एकजनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।
सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्पप्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान् घर रुँघेर बस्छन् ।
गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।
कानुनमा के छ ?
विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुंसक भएमा, ३ वर्षसम्म एकार्कालाई छाडेमा, पारपाचुके भएमा अर्काे बिहे गर्न पाइने उल्लेख थियो ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ ।
उक्त कसुरअन्तर्गत् दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।
यसरी विवाह गर्ने वा गराउनेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ ।
उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा ३ वर्षसम्म कैद र ३ हजार जरिवाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने ३ महिनाको छ ।
कानुनमा कारबाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम भने रोकिएको छैन । -रासस
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६