पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहीको आरोपमा दोषी भएको ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । अदालतले यो फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
१६७ पृष्ठ लामो यस फैसलामा सजायअघि यदि मुशर्रफको मृत्यु भयो भने पनि उनको शव घिसारेर ल्याउन र शवलाई ३ दिनसम्म फाँसीमा झुन्ड्याउन भनिएको छ ।
भारतको इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा भनिएको छ, ‘अदालतको फैसलामा लेखिएको छ कि मुशर्रफको मृत्यु फाँसीको सजायभन्दा अघि नै भयो भने उनको शवलाई इस्लामाबादकाे डि–चोकमा ३ दिन सम्म झुण्डाइने छ । ’
‘हामी कानुन कार्यान्वयन इकाइलाई निर्देशन दिन्छौँ कि दोषी व्यक्तिलाई कानुनी आधारमा दिइने सजायको काम पूरा होस् , यदि उनी त्योभन्दा पहिले नै मृत भेटिएमा उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डि–चौकमा ल्याइयोस् र ३ दिनसम्म झुण्डाइयोस् ।’
पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे । मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए ।
उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निष्कर्ष छ ।
७६ वर्षीय मुशर्रफ उपचारका लागि हाल दुबईमा छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६