काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीकाे मृत्यु भएको छ ।
इलाम घर भई हाल कन्काई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेललाई बसले ठक्कर दिएकाे थियाे । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई शुक्रबार बिहान ना ४ ख ६११६ नम्बरको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका ढुंगेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी, धनुषाको ढल्केबरमा २ मोटरसाइकल ट्रकमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ज ९ प ९८५९ मोटरसाइकलका चालक मिथिला नगपालिका–३ हरियरपुरका २० वर्षीय दीपकुमार महतोको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका–९, धरापानीका २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर घाइते भएका छन्। दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६