काठमाडौं । आगामी पुस १० गते बिहीबार नेपालमा २ घन्टा ४९ मिनेट लामो खण्डग्रास सूर्यग्रहण लाग्ने छ । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भएर १० बजेर १ मिनेटमा सकिने नासाले जनाएको छ ।
खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
‘मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ’ भट्टराईले भने ।
भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट रिङ अफ फायरका रूपमा देखिने यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत स्थानबाट देखिने छ । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ ।
खण्डग्रास ग्रहणलाई नांगाे आँखाले नहेर्न पनि सचेत गराइएको छ । नांगाे आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६