चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग पुर्याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउन्डेसनले पश्चिम चितवनको रामपुरमा रंगशाला बनाउँदै छ ।
रंगशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु बिक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने उनले जानकारी दिए ।
गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो । सोमबार ३ हजार ३ सय रुपैयाँ बचत भएको छ । रंगशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न सुरु गरेका छन् ।
रंगशालाभित्र भ्यु टावरबाट हेर्नका लागि २० रुपैयाँको टिकट लाग्ने व्यवस्था गरिएको छ । एकै दिन २ हजार २ सय जनासम्मले टिकट खरिद गरी रंगशालाको अवलोकन गरेका छन् ।
पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका संघ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रंगशाला बन्ने गरेको छ । रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।
निर्माणको काम तीव्र भए पनि आर्थिक संकलन भने खासै हुन सकेको छैन । ८ करोडको हाराहारीमा बोलकबुल भएकोमा १ करोड मात्र संकलन भएको छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक ३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।
रंगशाला सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउन्डेसनले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६