पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन् ।
उपचारका लागि भन्दै लामो समयदेखि दुबईमा स्वेच्छिक निर्वासनमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राति अबेर सार्वजनिक गरिदिएको भिडियो सन्देशमा उनले उक्त टिप्पणी गरेका छन् ।
पाकिस्तानको एउटा विषेश अदालतले गत मंगलबार मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो । पाकिस्तानी इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो ।
भिडियो सन्देशमार्फत् पूर्वराष्ट्रपति मुशर्रफले भनेका छन्, मेराविरुद्धमा नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा व्यक्तिगत प्रतिशोध देखिन्छ ।
उक्त भिडियो अस्पतालको शैयाबाट नै सार्वजजिक गरिएको थियो । उनलाई बोल्न पनि निकै गाह्रो भइरहेको देखिएको थियो । उनको स्वास्थ्य अवस्था पनि निकै नाजुक रहेको बताइएको छ ।
उनले फैसलाको विरुद्धमा पुनरावेदनका लागि प्रक्रिया थाल्ने बताएका छन् । त्यसका लागि उनका कानुनी सल्लाहकारहरुको टोलीले गृहकार्य गरिरहेका पनि मुशर्रफले जानकारी दिएका छन् ।
देशद्रोहको उनी विरुद्धको मुद्धा २०१३ देखि विचाराधीन थियो । उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । उनलाई संविधानको उलंघन गरेको र जबरजस्ती संकलकाल लागू गरेको आरोप लगाइएको छ ।
सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । त्यसपछि मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
उनी विरुद्धको गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोमेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेस गर्न डिसेम्बर ५ सम्मको अन्तिम समयसीमा तोकेको थियो । विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो ।
तोकिएकै मितिमा पेसावरको उच्च अदालतका मुख्य न्यायाधीश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधीश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको हो ।
अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले पनि असन्तुष्टि जनाएको छ । त्यसैगरी कतिपय अधिकारकर्मीहरुले पनि फैसला न्यायोचित नभएको टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६