हाउस अफ रेप्रेजेन्टेटिभ्स (तल्लो सदन)बाट महाअभियोग लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा अब माथिल्लो सदन सिनेट प्रवेश गर्ने भएको छ।
नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकी संसदको हाउस अफ रेप्रिजेन्टेटिभ्स (तल्लो सदन) मा ट्रम्पलाई महाअभियोग लगाउने विषयमा मतदान भएको थियो। महाअभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत आएको छ।
तल्लो सदनको महाअभियोगले सिनेटको कारबाही सुरु गर्ने बाटो खुलेको छ। त्यसको समयावधि र समय सिनेटले निर्धारण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी इतिहासमा महाअभियोग प्रक्रिया सामना गर्ने राष्ट्रपति ट्रम्प तेस्रो व्यक्ति हुन् । अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीशले महाअभियोग कारबाहीको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ ।
सिनेटका सदस्यहरूले कारबाहीको प्रक्रियाबारेमा मतदान गरे पनि कारबाही सुरु भएपछिको दैनिक कार्यसूची प्रधानन्यायाधीश जन रोबर्टले तय गर्ने छन् । तर प्रधानन्यायाधीशका कुनै पनि निर्णय सिनेटले साधारण बहुमतबाट उल्टाउन सक्छ ।
तल्लो सदनमा डेमोक्र्याटको बहुमत भए पनि माथिल्लो सदन सिनेटमा रिपब्लिकनको बहुमत छ। सिनेटमा महाअभियोग पारित हुने सम्भावना कम भए पनि राष्ट्रपतिलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन यो प्रक्रियालाई अघि बढाइएको रिपब्लिकन समर्थक बताउँछन् ।
यदि २ तिहाई बहुमतले ट्रम्प दोषी साबित भए उनी महाअभियोगको प्रक्रियाका कारण राष्ट्रपति पदबाट हटाइने अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुने छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६