रुकुम । रुकुम पश्चिममा एक वडाध्यक्षका भाइले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्घात कुटपिट गरेका छन् ।
कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ ६ बजे वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको थियो ।
चेनले हिर्काउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेपछि ५ टाँका लगाइएको छ । सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोट मात्रै लागेकाे प्रथमिक उपचारपछि घर फर्किएका छन् ।
स्थानीय ठेकेदारसमेत रहेका गोपालले पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्ने गरेको चन्दले बताए ।
कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ । उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका भाइ गोपाल भने फरार छन् ।
केशरमान तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका थिए ।
यसैबीच, वडाध्यक्षका भाइको कुटपिटपछि नगरपालिकाका सम्पूर्ण कर्मचारीले असुरक्षित महसुस गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
सुनियोजित ढंगले ज्यान मार्ने उद्देश्यले प्रहार भएको भन्दै कर्मचारीको सुरक्षा र दोषीमाथि कारबाहीको नभएसम्म नगरपालिकाका सम्पूर्ण कामकाज ठप्प पार्ने कर्मचारीहरुले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६