पाेखरा। पोखराको मौसममा आएको खराबीले २ हेलिकोप्टरलाई खेलमैदानमा अवतरण गराइएको छ ।
पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेस्टी र सिम्रिक एयरको हेलिकोप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।
बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो ।
‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकोप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने बित्तिकै उड्ने तयारीमा छन्’, पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भने ।
मौसम सफा नहुँदा पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६