चितवन । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । संघले पत्रकार सम्मेलन गरी पक्राउ परेका ५ कृषकको रिहाइको माग गरेको हो ।
संघका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुसी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गरे । संघले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको संघको आरोप छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउपछि मुद्दा दर्ता गरेको छ ।
सम्मेलनमा अण्डा उत्पादक कृषकमा बिचौलियाका कारण कृषक र उपभोक्ताहरु मारमा परेको जानकारी गराइएको थियो ।
संघले मंसिरर १ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको भए पनि सो मूल्यमा कृषकको फार्मबाट अण्डा उठ्न नसकेको समयमा बिचौलियाको प्रभावमा प्रशासनले कृषकलाई नियन्त्रणमा लिएको उनीहरुको आरोप छ ।
केसीले कृषकले ठूलो अण्डाको प्रतिक्रेट फार्म मूल्य दुई सय ७५रुपैयाँ र मध्यमको दुई सय ५५रुपैयाँ तोकेको भए पनि सप्लायर्सले कम मूल्य राखेर प्रचारप्रसार गरेपछि विवाद बढेको जानकारी दिए । अण्डाको लागत मूल्य ११ रुपैयाँ पर्ने भए पनि बिचौलियाका कारण कृषकले लागत मूल्य नपाएको केसीको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६