काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । हृदयघातका कारण आइतबार राति भट्टराईकाे निधन भएको थियाे ।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जानकारी दिए । निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान दिन लागिएको बाँस्कोटाले बताए ।
स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्ताव अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले प्रतिभावान कलाकार गुमाएको भन्दै ट्विटरमार्फत समवेदना व्यक्त गरेका छन् ।
‘बितेका २ दिनमा हामीले प्रतिभावान् २ कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं’ प्रधानमन्त्रीले भनेका छन्, ‘उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहने छ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार दीपक क्षेत्रीको पार्थिव शरीर पनि राखिने छ । कलाकार क्षेत्री गत शनिबार मृत अवस्थामा आफ्नै घरमा फेला परेका थिए । क्षेत्रीको पनि सोमबार नै अन्त्येष्टि हुनेछ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६