काठमाडौं । प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा संलग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए । ‘
आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ’, उनले भने ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६