काठमाडौं । दाेलखाकाे कालिञ्चाेक भ्रमणमा गएर पर्किएकाे बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेको छ ।
दोलखाको कालिञ्चाेक मन्दिरको दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस लामोसाँघु–जिरी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ महिला, ३ पुरुष, १ बालिका र २ बालकसहित १४ जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।
घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडाैं ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।
रिर्जभ गरेर लगिएकाे बस आइतबार बिहान करिब ८ बजे ६ किलोको मोडमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । निर्माणाधीन लामोसाँघु-जिरी सडकमा ओभरटेक गर्ने क्रममा यात्रुबस मोडमा खसेको प्रहरीको भनाइ छ ।
‘यात्रुबस रिजर्भ गरिएको रहेछ। ३२ जना सिट क्षमताको बसमा १-२ जना मात्रै उभिएका थिए । चालक फरार छन् , ट्राफिक प्रहरीले जानकारी दियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६