काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् । राजधानी दैनिकमा समाचार छ ।
अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।
अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । यी घटनाले कतै अहिले पनि अख्तियारमा रहेका त्यस्तै, भ्रष्ट कर्मचारीले ‘बार्गेनिङ’ गर्दै घुस त लिइरहेका छैनन् भन्ने आशंका सिर्जना गरिदिएको छ । विगतमा अख्तियारमै बसेर गएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल घुस प्रकरणमा मुछिएपछि हाल अख्तियारको अनुसन्धानको घेरामा छन् । अख्तियारले उनलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको थियो । सोही आधारमा उनी निलम्बनमा परे ।
उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निजहरूसँग घुस लिएको विषयमा अख्तियारले भ्रष्टाचारजन्य कार्यमा अनुसन्धान गरिरहेको जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रिजालले एक थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य बाहिरिएको थियो । उनले मेलुङ गाउँपालिका–४ भेडपुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका थिए ।
रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सीडीओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका थिए ।
विगतमा अख्तियारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षकसमेत घुस प्रकरणमा परेर अनुसन्धानमा तानिए । २० असोजमा महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई स्थानीय व्यवसायीसँग १ लाख ४० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । उनी सो वृतमा जानुअघि अख्तियारमै कार्यरत थिए ।
यसअघि दुई वर्षअघि अख्तियारमा बसेर गएका वैदेशिक रोजगार विभागमा कार्यरत एक उपसचिव भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका छन् । अख्तियारमै बसेर गएका वैदेशिक रोजगार विभागका एक उपसचिवसमेत भ्रष्टाचारको फन्दामा परेका थिए । यसरी अख्तियारमा काम गरेर गएकामा देखिएको भ्रष्ट प्रवृत्तिप्रति प्रश्न गर्दा अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उनीहरूको भ्रष्ट चरित्रले काम गरेको बताए । ‘आयोगबाट काम गरेर जाने धेरै छन्, यी त प्रतिनिधि पात्र मात्रै हुन्, खोज्दै जाँदा धेरै भेटिन सक्छन्,’ उनले भने, ‘अख्तियारले आफ्नै कार्यलयमा बसेर काम गरिरहेका कर्मचारीले घुस खाने र भ्रष्टाचार गरे पनि छाड्दैन ।’
अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेसमेत अख्तियार या जुनसुकै ठाउँमा जतिसुकै ठूलो ओहोदामा बसेका भए पनि भ्रष्टाचार मुद्दामा कसैलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उनले सोमबार भ्रष्टाचारविरुद्धको अभियान कार्यक्रममा राज्यको जुनसुकै अहोदामा बसेका भए पनि भ्र्रष्टाचार गर्नेलाई आयोगले छुट दिन नसक्ने बताएका थिए ।
‘चोखिन अख्तियार जान्छन्’
निजामती सेवामा कार्यरत कतिपय कर्मचारीमाथि भ्रष्टचारमा लिप्त भएर चोखिनका लागि अन्तिम समयमा अख्तियार जाने गरेको आरोप लाग्ने गरेको छ । ‘कमाइ हुने अड्डामा लामो समय बसेर अकुत सम्पति कमाएका अधिकृत, उपसचिव तथा सहसचिवको अन्तिम रोजाइ अख्तियार हुने गरेको छ,’ सरकारका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार अख्तियारमा कर्मचारी लैजाँदा हचुवाका आधारमा लैजानुभन्दा पनि उनीहरूको तीनपुस्ते विवरण हेरी इमानदार ठहर भए पछि मात्रै लैजान सके त्यस्तो समस्या आउँदैन । तर, अहिले पनि अख्तियारमा सोर्सफोर्स र भनसुनकै आधारमा कर्मचारी लैजाने प्रवृत्ति भएकाले अख्तियारमा नै बसेर सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य हुन सक्ने दाबी ती अधिकारले गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६