काठमाडौं । अभियुक्तसँग घूस लिएको सार्वजनिक भएपछि गृह मन्त्रालयमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
आयोगले रिजाललाई पदबाट निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी रिजाललाई निलम्बन गर्न गृहमा लेखी पठाइएको जानकारी गराएका हुन् ।
रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकाले पदमा बहाल रहँदा आफूविरूद्धको प्रमाण लोप गर्नसक्ने भएकाले निलम्बन गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको छ।
‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफूविरूद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरबारमा लेखी पठाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
रिजालले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी सार्वजनिक भएपछि आयोगले छानविन थालेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६