काठमाडौं । नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भुटानसँग भिड्दै छ। दशरथ रंगशालामा मंगलबार दिउँसो ठिक ३ बजे नेपाल र भुटानबीचको फाइनल भिडन्त सुरु भएको हो ।
१५औं मिनेटमा नेपालले पहिलाे गाेल गरेकाे छ । नेपालका लागि अभिषेक रिजालले भुटानबिरुद्ध गोल गरेका छन्।
समुह चरणमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । भुटानले भने साग फुटबलको फाइनलमा पहिलोपटक स्थान बनाएको छ। मंसिर १५ गतेदेखि सुरु भएको सागको समापन आजै हुने कार्यक्रम रहेको छ।
खेल पत्रकारद्वारा बहिष्कार
यसैबीच, दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले दक्षिण एसियाली खेलकुद (साग)को फाइनल खेलको रिपोर्टिङ बहिष्कार गरेका छन्।
रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भइसकेको छ। तर, खेल पत्रकारहरु रंगशाला छिरेका छैनन्।
उनीहरुले घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको पनि बताएका छन्।
नेपाली खेल पत्रकारको आन्दोलनमा बंगलादेशी र श्रीलंकाली खेल पत्रकारले पनि साथ दिएका छन्।
मंगलबार रंगशालामा रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन चापागाईंलाई सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६