इटहरी । चर्चित बालगायक प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।
लैगिंक हिंसाविरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा बालगायक आचार्यलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मान गरे ।
भारतको जिटिभीबाट प्रसारण हुने चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्प्समा प्रितम तेस्रो भएका थिए । इटहरी–५ का ११ वर्षीय प्रितमलाई इटहरी उपमहानगरको कार्यपालिका बैठकले सम्मान गर्ने निर्णय गरेको थियो । नियमानुसार कर कटौती गरेर पुरस्कारसहित सम्मान गरिएको हो । इटहरी उपमहानगरले गरेको सम्मानबाट आफू उत्साहित भएको प्रितमले बताए ।
प्रितमलाई सारेगम लिटिल च्याम्प्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर बिदाइ गरेका थिए । तेस्रो भएर नेपाल आउँदा उनलाई नगरपालिका परिसरमा भव्य स्वागत गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६