काठमाडाैं । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेसा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ?
अब पेसा छोडिहाल्नुस् । नत्र कारबाहीमा परिएला । महानगरपलिकाले आज ३ दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल गरेको छ । कामपाले माग्ने पेसा नरोके कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भीख माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भीख माग्नेलाई अधिकतम २ महिना कैद र २ हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने संहितामा उल्लेख छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्य भन्छन्, माग्ने पेसा गर्न नपाइने कानुनलाई कार्यान्वयन गर्न लागेका छौँ, माग्ने पेसा बनाउनेलाई हटाउँछौँ, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाको संरक्षण गर्नेछौँ । उनका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनर्मिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिए ।
कामपाले कानुनले निषेध गरेको भीख माग्ने पेसा नअपनाउन र अपनाए कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको व्यवस्था छ । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने स्पष्ट व्यवस्था छ ।
कानुन कार्यान्वयन गर्ने काम स्थानीय तहको हो । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर अभियान अघि बढाउँदै छ । अभियानका लागि ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा तय गरिएको छ ।
यही मंसिर २९ गते कामपा दिवसको अवसरमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषण गर्न लागिएको छ । पहिलो चरणमा उनीहरुलाई राख्न बालाजुमा ‘अस्थायी आवास केन्द्र’ स्थापना गरिएको छ । कामपाले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेसेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बाजालुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । त्यसपछि बेसहाराहरुलाई संरक्षण दिइने र अन्यलाई सडकमा बस्न नदिने गरी कार्यक्रम चलाइने छ ।
आगामी ३ महिनामा एक छाक खान नपाएर सडकमा बस्ने अवस्था अन्त्य गरिसक्ने योजना छ । मानवसेवा आश्रमसँगको सहकार्यमा सुरु गरिएको सहयोगापेक्षी सडक मानवमुक्त अभियानका पहिलो चरणमा अहिले प्रचारात्मक कार्यक्रम जारी छ । हरेक दिनजसो सडकको अवस्था अध्ययन गर्ने र कहाँ कति बेसहारा, पेसेवर मगन्ते र सडकमा सुत्ने मजदूर छन्, त्यसको पहिचानको काम जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
अभियान सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधिसँग सुझाव सङ्कलन जारी छ । उक्त अभियान कार्यान्वयन उपसमितिका संयोजक गुजेश्वरी श्रेष्ठ महानगरको अभियानमा जोडिएर कार्यक्रम सफल पार्न नगरबासीलाई अनुरोध गर्छन् ।
यसअघि आश्रमकै पहलमा पहिलोपटक २०७४ चैत ५ गते गोरखा नगरपालिका र सोही चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय, बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनर्मिलन गराउँदै आएको छ ।
१५ जिल्लाका १७ स्थानबाट सेवा थालेर अहिलेसम्म झण्डै ६ सय जनालाई परिवारमा पुनःमिलन गराएको र हाल ८ सय जना आश्रित रहेको जानकारी दिँदै आश्रमका अभियानकर्मी सुमन बर्ताैलाले स्थानीय तहको सक्रियताले आफूहरुलाई हौसला मिलेको प्रतिक्रिया दिए । उक्त अभियानमा आश्रमका १ सय १० अभियानकर्मी सक्रिय छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६