इलाम । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरबासमा सोमबार आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको २ तल्ले घरको माथिल्लो तला जलेर नष्ट भएको छ ।
आगलागीबाट ४ तोला सुन, ५ लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिए ।
काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६