वीरगन्ज । भारतीय पक्षले गण्डक नहरमा पानी नछाडेपछि गहुँ खेती प्रभावित हुने भएको छ ।
भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता (पुस १५) भित्र पानी छोडी सक्नुपर्नेमा त्यस्ताे नगरेकाेले पर्सा, बारा तथा रौतहट जिल्लामा गहुँ खेती प्रभावित भएकाे हाे ।
भारतले पश्चिम चम्पारणस्थित १ सय ६ दशमलव ४५ आरडीमा लोकल ड्रेन साइफनको मर्मतसम्भार गर्नकाे लागि पानी नछाेडेकाेले याे वर्ष गहुँ खेती प्रभावित हुने भएकाे छ ।
गण्डक नहरमा भारतले पानी नछोड्ने जानकारी गराएकाे नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ ।
याे विषयमा जानकारी दिंदै सूचना अधिकारी सुरेशप्रसाद साहले भने, भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले गहुँ खेती गर्नुपर्ने बाध्यता आइलागेको छ ।
भारतले पानी नछाेड्दा समस्या भएकाे बताउँदै किसान शेषमन पण्डित भने, आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरुपमा गहुँ खेती गर्न सकिएको छैन ।
भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ ।
गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहटका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाउने गहुँ खेती यस वर्ष ढिलो हुने तथा प्रभावित हुने किसानको ठम्याइ रहेको छ ।
भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकीटोलबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा मिसिने गरिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने सम्झौता भएको छ ।
उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै यस वर्ष गहुँ छर्ने याममा गण्डक नहरमा पानी नआउँदा किसान समयमा खेती गर्न नसकिएको हो ।
सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६