काठमाडाैं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।
जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान १ महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से ६ प २३११ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६