काठमाडौं । व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । उक्त आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए । उनले भने, पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुने छ । नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ ।
नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ । मादी नदीमा ताल बनाउन सकिए डुंगा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ , नगरप्रमुख न्यौपानेले भने, यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।
काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५ सय जना क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिने छ ।
प्रथम चौमासिक खर्च २५ करोड रुपैयाँ
नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ को प्रथम चौमासिकसम्म २४ करोडभन्दा बढी खर्च गरेको छ । ३१औँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्म चालू र पुँजीगततर्फ गरी २४ करोड ८९ लाख १८ हजार ५ सय ९९ खर्च भएको नगरपालिकाले जनाएको छ ।
चालूतर्फ १८ करोड ३४ लाख ५६ हजार ९ सय ९५ र पुँजीगततर्फ ६ करोड ५४ लाख ६१ हजार ६ सय ४ रुपैयाँ खर्च भएको नगरपालिकाका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए । चालू आवको कूल बजेट १ अर्ब ३८ करोड ३ लाख २५ हजारमध्ये चालूतर्फ ७७ करोड ८६ लाख ७९ हजार र पुँजीगततर्फ ६० करोड १६ लाख ४६ हजार खर्च हुने नगरपालिकाको अनुमान छ ।
प्रथम चौमासिकमा चालूतर्फ अनुमानको तुलनामा २३.५६ प्रतिशत र पुँजीगततर्फ अनुमानको तुलनामा १०.८८ प्रतिशतले बढी खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रथम चौमासिकसम्म ४० करोड १३ लाख ५७ हजार ५ सय ६४ रुपैयाँ आम्दानी गरेको छ ।
बाह्यतर्फ ३३ करोड १९ लाख ६९ हजार ५ सय ६२ र आन्तरिकतर्फ ६ करोड ९३ लाख ८८ हजार २ सय रुपैयाँ आम्दानी भएको छ । चालू आवमा नगरपालिकाले बाह्य र आन्तरिक गरी आयतर्फ १ अर्ब ३८ करोड ३ लाख २५ हजार रुपैयाँ अनुमान गरेको छ । रासस
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६