काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा आइतबार विहान प्रभात फेरि निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको प्रभात फेरी माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो । प्रभातफेरिको उद्घाटन महासंघका सल्लाहकार रमेश शर्माले गरे ।
प्रभात फेरीमा सहभागीहरुले समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार निर्माण विकासको आधार, सार्वजनिक निर्माण सबैको सरोकार, श्रमीक र व्यवसायी निर्माण उद्योगका पर्यायवाची लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
सोही अवसरमा महासंघका सल्लाहकार शर्मा र अध्यक्ष रवि सिंहले संयुक्त रुपमा महासंघको मुखपत्र निर्माण समाचार को विमोचन गरे ।
१२ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघले आइतबार नै महासंघ सचिवालयमा गरेको रक्तदान कार्यक्रममा २६ जना दाताले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे ।
महासंघले प्रत्येक वर्ष मंसिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६