भारतको राजधानी नयाँ दिल्लीस्थित एक कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार बिहान नयाँ दिल्लीको एक साँघुरो गल्लीमा रहेको ६ तले भवनमा आगलागी भएको थियो । झोला उत्पादन गर्ने कारखानाभित्र मजदुरहरु सुतिरहेको समयमा आगलागी भएको उद्धारकर्ताहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनीहरुले बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले निकै डरलाग्दो आगजनी भएको र उक्त दुखद घटना भएको ठाउँमा सम्भावित सम्पूर्ण सहयोग, उद्धार र राहतको काम भइरहेको बताएका छन् ।
नयाँ दिल्लीस्थित अग्नी नियन्त्रक कार्यालयमा उक्त आगलागीका बारेमा स्थानीय समय अनुसार आइतबार बिहान ५:२२ बजे पहिलो फोन आएको बताइएको छ ।
भारतका गृहमन्त्री अमित शाहले उक्त घटना अमूल्य जीवन लिने दुखद घटना भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६