पाेखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला क्रिकेट टाेली समूहचरणबाटै बाहिरिएकाे छ ।
नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो । सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।
तर १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउन सक्यो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् उनले २८ बलमा २ चौका प्रहार गरिन्।
त्यस्तै अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन्।
नेपाललाई सस्तैमा समेट्न श्रीलंकाकी सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन्।
यससँगै १३ औं दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ।
नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ। अब श्रीलंकाले बंगलादेशसँग खेल्नेछ।
बंगलादेशले ३ खेलमा ३ जित हात पार्दा श्रीलंकाले समान खेलमा २ खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
नेपालले ३ खेलमा २ अंक जोड्यो। अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्सले यस प्रतियोगितामा कुनै अंक जोडेन।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६