काठमाडौं । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल मन्त्रालय तानिएका छन् ।
अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई गृह मन्त्रालयमा तानिएको छ । उनलाई जिम्मेवारीबाट हटाएको प्रवक्ता शर्माले बताए ।
प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो ।
उनले १ लाख रूपैयाँ मागेर १० हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए ।
घटना बाहिरिएपछि रिजालले बिहीबार रकम फिर्ता गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६