लहान । कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे। गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो। छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। नागरिक दैनिकमा समाचार छ ।
लेनदेनको विषयमा भएको सामान्य विवादमा चौधरीले आफूसँग भएको अवैध हतियार निकालेर साहको छातीमा गोली हानेका थिए। साहमाथि गोली हानेर छिमेकीको घरमा लुकी बसेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरी एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो। साहमाथि गोली प्रहार गर्ने चौधरी निर्माण व्यवसायी हुन्।
जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो। नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए। नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो।
असार १९ गते महोत्तरीको बर्दिबास नगरपालिका–७ मा हतियारसहितको समूहले गाउँलाई नियन्त्रणमा लिएर डकैती ग¥यो। प्रतिकार गर्दा डाँकाले रामसुन्दर महतोसहित पाँचजनालाई कुटपिट गरी घाइते बनाए। डकैतीमा संलग्नमध्ये सर्लाही चन्द्रनगर गाउँपालिका–६ का ४५ वर्षीय देवलाल कापर एक थान नलकटुवा पेस्तोल र गोलीसहित पक्राउ परे।
२०७५ पुस २४ गते सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित जयनारायण यादवको घरमा भइरहेको छलफलमा दुईजना युवक प्रवेश गरी पेस्तोल ताके। छलफलमा सहभागीले प्रतिकार गर्न खोज्दा उनीहरू पेस्तोल फालेर मोटरसाइकल चढेर भागे। मेड इन युएसए लेखिएका दुई थान स्वचालित पेस्तोल, दुई राउन्ड गोली र म्यागजिन प्रहरीले बरामद ग-यो।
२०७५ साउन २४ गते सिरहाको कल्याणपुर नगरपालिका–११ मा सञ्चालित राजाराम मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई चारजनाको समूहले पेस्तोल देखाई २५ लाख ६० हजार रुपैयाँ लुट्यो । सोही वर्ष जेठ महिनामा कल्याणपुरकै शिवम मनी ट्रान्सफरका कर्मचारी धनवीर यादवलाई पेस्तोल देखाएर ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो।
ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण मुख्य मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएको थियो। त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७६/७७ को असोज महिनासम्म १२ थान हतियारसहित २० जना मानिस पक्राउ परेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६