भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ ।
स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३० बजे मध्यप्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दुर्घटना भएको थियो ।
बाइपासमा सडकमा भएको यस दुर्घटनामा ९ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाइएको छ ।
यसैबीच मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई सहयोग गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
‘रेवामा भएको दुर्घटनाको दुखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ, मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’
क्षमताभन्दा बढी यात्रु सवार हुनु, सडकको खराब अवस्था र चालकका लाहपर्वाह कारण भारत घातक सडक दुर्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ । गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी १ लाख ५१ हजार ४ सय ७१ व्यक्तिको मृत्यु भएको थियो ।
सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सवारी दुर्घटनामा मारिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६