झापा । झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेसनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम सुरु गरेका हुन् ।
५ बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । अहिले उद्यान निर्माण गर्न १ हजार ६ सयभन्दा बढी चक्का संकलन गरिएको छ । उद्यान निर्माण गर्न अझै १ हजारभन्दा बढी चक्का लाग्ने बताइएको छ ।
मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामा चक्काबाट राष्ट्रिय उद्यान बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत पुराना चक्का संकलन गरिसकिएको प्रसाईंले जानकारी दिए । उनले भने, विसं २०७२ देखि गोरुगाडाको चक्का संरक्षण गर्दै आएको हुँ ।
उनले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका–६ देवी बस्तीमा उद्यान निर्माणको काम सुरु गरेका हुन् । सानो संसार हाउजिङ नजिकै उद्यान निर्माण भइरहेको छ । उद्यान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताइएको छ ।
झापालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित डेढ वर्षभित्र उद्यान निर्माण गरिने जनाइएको छ । उद्यानमा ३ सय वर्षभन्दा पुराना चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास भइरहेको प्रसाईंले बताए ।
प्रयोगविहीन भएर फ्याँकिएका चक्का घरघरमा पुगेर खरिद गरिएको र उद्यानमा राखिने चक्काको ढाँचाको काम थालिएको इन्जिनियर अनुष पराजुलीले जानकारी दिए ।
उद्यानमा जमिनबाट ८१ फिट उचाइमा राष्ट्रिय झण्डा राखिने तयारी छ । नेपालको नक्साभित्र १ सयभन्दा बढी फूल फुलाएर उद्यानलाई सुन्दर बनाइने तयारीसमेत थालिएको छ । उद्यानमा प्रयोग गरिने सबै चक्का ५० वर्षभन्दा पुराना र सखुवाकै हुने छन् , प्रसाईंले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६